काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्दै दाहालले राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन् । यस्तै दाहालले कांग्रेसलाई राष्ट्रपति दिनुको कारण पनि खुलाएका छन् । संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पाएकाले आफूले कांग्रेसलाई राष्ट्रपति दिन बाध्य भएको उनले बताएका छन्।
प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले भने, ‘मुलुकमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन । दुईदुई पटक सम्मानित सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरूपण भइसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संविधान र लोकतन्त्रको निरन्तरता एवम् संसद्को स्थायित्वमै प्रश्न चिन्ह खडा गर्यो ।’
लगभग सिंगो संसद्को विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसद्को विघटनको खुला पक्षपोषण ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती भएको उनको भनाइ छ।
राष्ट्रिय हित र स्वाभिमानलाई उच्च प्राथमिकता दिँदै छिमेकी मुलुक र बाँकी विश्वसँग आत्मसम्मानपूर्ण सम्बन्धका लागि राष्ट्र एकतावद्ध हुनु पर्ने समेत दाहालले बताए ।













