पोखरा ।
पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका -४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीको अनुसार घाइते दुवैको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार बिहान करिब साढे ७ बजेतिरको समयमा फार्ममा अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
दुई जनालाई आक्रमण गरेपछि चितुवा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको छ ।














