उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।
उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ ।चैत ३ गते हुने निर्वाचनको लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि मतदानको दिनबाट मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।

आजदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गरेर मत माग्न पाइनेछैन ।

त्यस्तै एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न(गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी ४ जना उम्मेदवार रहेका छन् । उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

  • १ चैत्र २०७९, बुधबार ०८:४६ प्रकाशित