जनमोर्चाद्धारा संघीयताविरुद्ध आन्दोलन घोषणा

केन्द्रभाग मिडिया

सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताको विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

सो पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ’भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।’

बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । सो उपनिर्वाचनमा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ ।

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत गठन गरिएको छ ।

  • ३० फाल्गुन २०७९, मंगलवार १०:२९ प्रकाशित