ओलीले भने,‘राष्ट्रपति निर्वाचनपछि काँग्रेस र एमालेको सरकार नबन्ला भन्न सकिन्न’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेस एक ठाउँमा हुन नहुने भनेर कसम नखाएको बताएका छन् । राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताउँदै उनले यस्तो बताएका हुन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउन सक्ने बताए ।

उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका वहन गर्न सक्ने राष्ट्रपति आवश्यक रहेको बताए ।

उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम आएको छैन ।’

  • २५ फाल्गुन २०७९, बिहीबार १४:४४ प्रकाशित