पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बिहीबार)देखि नियमित रूपमा रात्रिकालीन उडान हुने भएको छ।
विमानस्थलमा उपकरणका आधारमा विमान उडान र अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर)प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो। हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकोमा अब आवश्यकताको आधारमा रातिको १२ः०० बजेसम्म उडान हुने छ ।
बिहीबार साँझ पोखराका लागि काठमाडौं, भैरहवा, नेपालगन्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन्।
यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन। मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो।
बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताए। बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन्।
कर्णका अनुसार बिहीबार काठमाडौंबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगन्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ।