पोखरा ।
अन्नपूर्ण केवलकारले होलीको अवसरमा अफर ल्याएको छ ।
केवलकारले होलीको अवसर पारेर हिजो (सोमबार)देखि लागु हुने गरि केवलकारको टिकट शुल्कमा छुट दिने भएको हो । यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । पोखराको आन्तरिक पर्यटन प्रर्वद्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।
यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केवलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जनाएका छन् ।
कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सयमात्रै तिरे पुग्छ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा थियो । त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।
त्यसमा पनि अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३ सय ५० मात्रै कायम गरिएको कम्पनीले जनाएको छ । विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ । विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ ।
साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपांगता, बालबालिका र विद्यार्थी बाहेकलाई दुईतर्फी भाडा ७ सयमात्रै कायम गरिएको छ ।
केवलकार कम्पनीले साँझको समयमा पनि छुटको व्यवस्था गरेको छ । बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको अन्नपूर्ण केवलकारले जनाएको छ ।