दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिन्ज्या शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन्।
बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन्।
कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै २,००० वटा टहराहरू जलेर नष्ट भए।
आगो नियन्त्रणमा आएपछि काम लाग्ने सामान खोज्न सयौँ मानिसहरू सोमवार बिहान घटनास्थलमा फर्किएका छन्।
छिमेकी देश म्यान्मारमा हिंसा फैलिएपछि विस्थापित भएका हजारौँ मानिसले बाङ्ग्लादेशमा शरण लिइरहेका छन्।
आइतवारको आगलागीका कारण झन्डै १२,००० शरणार्थीहरूले फेरि घर गुमाएका छन्।
आगलागीको कारण थाहा हुन सकेको छैन। तर उक्त घटनामा कोही पनि हताहत भने भएनन्।
कसैले जानीजानी लागो लगाएको हो कि भनेर प्रहरीले छानबिन गरिरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
एक अधिकारीका अनुसार स्थानीय समयानुसार आइतवार दिउँसो २ः४५ बजे सुरु भएको आगोले केही बेरमै बाँस र तिरपाल भएको शिविरलाई ध्वस्त बनायो। खाना पकाउने ग्यासका कारण आगो चाँडै फैलिएको बताइएको छ।
झन्डै २,००० वटा टहराहरू जले अनि जबरजस्ती विस्थापित भएका १२,००० जनाजति म्यान्मारी नागरिकहरू आश्रयविहीन बन्न पुगे, बाङ्ग्लादेशको शरणार्थी मामिला हेर्ने एक अधिकारी मिजानुर रहमानले समाचारसंस्था एएफपीलाई बताए।
आगलागी तीन घण्टाभित्र नियन्त्रणमा लिइएको भए पनि कम्तीमा पनि ३५ वटा मस्जिद र २१ वटा प्रशिक्षण केन्द्रहरूमा क्षति पुगेको जानकारी रहमानले जानकारी दिए।
साभारःबीबीसी