काठमाडौं ।
नेकपा एमालेका नेताहरु एकीकृत समाजवादीको कार्यालयमा पुगेर राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका छन् ।
राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका थिए ।
नेकपा एसले भने राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ दिएको छ ।
राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ । उक्त चुनावमा आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ मैदानमा छन् ।
नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गरेको छ । नेकपा एसको बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरेको छ ।













