सिनियर र जुनियर दुवै नेपाली किक्रेट टिम आज यूएईविरुद्ध भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज नेपालको सिनियर र जुनियर दुवै राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग खेल्दैछन् । दुवै खेल यूएईमै हुँदैछ । र, दुवै टोलीको अन्तिम लक्ष्य विश्वकप नै छ ।त्यसैले नेपाली क्रिकेटका लागि आज महत्वपूर्ण दिन रहनेछ ।

सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको निकै नजिक छ । त्यसैले यू-१९ टोलीको खेल निकै महतवपूर्ण हुनेछ ।अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र यूएई खेल्दैछन् । राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ ।

६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् । त्यसैल नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ ।उता नेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न यूएईमा छ । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरिसकेको छ ।

लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई यूएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।

नेपालले अब ७ खेल खेल्न बाँकी छ । जसमध्ये ६ खेल जितेमा नेपाल शीर्ष तीनमा पुग्नेछ । यूएईका लागि पनि शीर्ष ३ मा स्थान बनाउन बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ ।

  • १८ फाल्गुन २०७९, बिहीबार ०९:३६ प्रकाशित