काठमाडौं ।
आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपाल लगातार तेस्रोपटक विजयी भएको छ ।आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो।
युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए ।
छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे ।२६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे ।