जोमसोम ।
पोखरा जोमसोम उडान झण्डै तीन महिना पछि पुन सञ्चालनमा आउने भएको छ ।
गत मंसिर १५ गतेदेखि बन्द पोखरा–जोमसोम हवाई सेवा फागुनको तेस्रो साता अर्थात फागुन १७ गतेदेखि नियमित सञ्चालनमा आउने भएको पोखरा विमानस्थलले जानकारी दिएको छ। विमानस्थलको अनुसार समिट एअरले फागुन १७ र तारा एअरले फागुन २२ गतेदेखि हवाई सेवा सुचारु गर्ने भएका छन् ।
अत्यधिक चिसो र हिमपातको जोखिम हुने भएकाले एअरलाइन्स कम्पनीले पोखरा–जोमसोम हवाई सेवा स्थगित गरेका थिए ।
हिउँद याम सकिएसँगै वसन्त ऋतु आउँदै गरेको हुँदा पोखरा–जोमसोम हवाई सेवा नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको समिट एअरलाईन्सका पोखराका प्रबन्धक पोषणमणि त्रिपाठीले जानकारी दिए ।
त्रिपाठीको अनुसार जोमसोम उडानका लागि अग्रीम टिकट बुकिङ खुला भइसकेको छ ।
यसैगरी पर्यटकीय सिजन सुरु भइसकेकाले पोखरा–जोमसोम उडानलाई नियमित गर्न पहल भइरहेको तारा एअर जोमसोमका प्रतिनिधि सुजन लालचनले जानकारी दिए । लालचनको अनुसार तारा एअरले फागुनको २२ देखि सेवा सञ्चालनमा ल्याउने भएको छ भने बुकिङसमेत खुला गरेको छ ।














