पोखरा ।
रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा ‘अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नारासहित हुने प्रतियोगिता फागुन २३ गतेदेखि २७ गते सम्म हुने रुपा गाउँपालिकाले जानकारी दिएको छ ।
भलिबलसँगै रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शन र माला प्रतियोगिता पनि आयोजना हुने गाउँपालिकाले घोषणा गरेको छ ।
प्रतियोगितामा सहभागी हुनेले यहि फागुन १५ गतेदेखि २२ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।
टिम दर्ताको लागि खेलाडीहरुले खेलाडी दर्ता फारममा फोटो टाँस गरि सम्बन्धित वडा कार्यालयले प्रमाणित गरेको फारम र खेलाडीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित प्रतिलिपि बुझाउनु पर्ने छ ।टिममा एक राष्ट्रिय स्तरको खेलाडी समावेश गर्न पाइनेछ ।
भलिबलतर्फ प्रथम हुनेलाई १ लाख २५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई ८० हजार र तृतीय हुनेलाई ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिने आयोजक गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै बेस्ट प्लेयरले ३ हजार, वेस्ट सर्भरले २ हजार , बेस्ट ब्लकरले २ हजार वेस्ट सटरले २ हजार,बेस्ट लिब्रो २ हजार,बेस्ट स्पाइकरले २ हजार र अनुशासित टिमले २ हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।
झाँकी प्रर्दशनमा ४० वटा समुहको सहभागिता रहने आयोजकले जनाएको छ ।
झाकी प्रर्दशनमा ३५ जना सदस्य हुनुपर्ने जनाइएको छ। झाँकीमा प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई २० हजार,तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै माला प्रतियोगितामा भाग लिने समुहले बढिमा १० वटा माला प्रतियोगितामा समावेश गनुपर्नेछ ।माला प्रतियोगितामा प्रथम हुनले ६ हजार ६६७ रुपैयाँ, द्धितिय हुनेले ४ हजार र तृतीय हुनेले २६६७ रुपैयाँ पाउनेछन् ।
मालामा स्थानीय सामाग्रीहरुमात्र प्रयोग गर्नुपर्ने बताइएको छ । बाह्य जरि, फूल लगायतका अन्य कुनै पनि वस्तु प्रयोग गर्न पाइने छैन ।
रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।
कार्यक्रममो मुल समारोह फागुन २७ गते सम्पन्न हुने छ । उक्त दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृति प्रस्तुति समेत रहने आयोजक रुपा गाउँपालिकाले जनाएको छ।