हामीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन, हल्ला मात्रै हो : झलनाथ खनाल

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको स्पष्ट पारेका छन् ।

बुधबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले आफुहरुको पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने हल्ला मात्रै भएको बताएका छन् । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटघाटबारे अध्यक्ष माधवकुमार नेपालले रिपोर्टिङ गरेको तर राष्ट्रपतिको प्रस्ताव आएको बारे केही नबोलेको उनले बताएका छन् ।

‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा, भेटघाटको सन्दर्भमा रिपोर्ट गर्नुभयो, तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने चाहिँ, त्यस्तो रिपोर्टिङ भएन’ उनले भने, ‘त्यसको अर्थ अहिलेसम्म हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने जुन हल्ला छ नि त्यो हल्लामात्र रहेछ भन्नुपर्‍यो ।’

यद्यपि यता ओलीले राष्ट्रपतिको लागि एमालेबाट सुबास नेम्वाङ र नेकपा एसका माधव कुमार नेपालको नाम अघि सारेको बताइएको छ ।

  • १० फाल्गुन २०७९, बुधबार १६:२६ प्रकाशित