माधव नेपाललाई केपी ओलीको राष्ट्रपति ललीपप !

केन्द्रभाग मिडिया

सामाचार टिप्पणी

गत २८ माघमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भनेका थिए, ‘राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु’ उनले यसलाई थप व्याख्या गर्दै एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै भनेका थिए ‘अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दंग परेका छन् । सबैलाई पद दिएको छ । म भैहालेँ भन्ने परेको छ । को को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यहि ढंगले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौं ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पार्टी एकतासहितको राष्ट्रपति बन्न प्रस्ताव गरेको विभिन्न सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । ओलीको यो प्रस्तावसंगै माधव नेपाललाई उनकै भाषामा ‘सेन्टिफ्ल्याट’ खाने पात्रमा स्वयम आफै पर्ने हुन् या ‘ढाँटको निम्तो खाई पचाउने’ शब्दावली प्रयोग गर्ने नेपालले खाइ पचाउन पाउने हुन् त्यसको निर्कोल १३ फागुनमा हुने नै छ । तर सत्य यो हो, माधव नेपाललाई राष्ट्रपतिको ललीपप अहिले टक्र्याइएको छ ।

माधव नेपालसंग भेटेरै ओलीले यस्तो प्रस्ताव गरेको दाबी गरिएपनि माधव नेपाल र केपी ओलीको बीच यति सजिलै सहमति भएर ओलीले नेपाललाई राष्ट्रपति स्विकार गर्ने परिस्थिति नरहेको एमालेका एक नेता दाबी गर्छन् । उनका अनुसार ओलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि नेपाललाई जस्तै प्रस्ताव गरेका छन् ।

उनको पहिलो जोड एमालेकै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायतका नेतालाई राष्ट्रपति बनाउने हो । नभए ओली  महन्थ ठाकुर या आशोक राईलाई राष्ट्रपति बनाउन तयार छन् ।

माओवादी केन्द्र र एमाले दोस्रो तहका नेताको जोड नेपाल–खनाल मध्ये एक राष्ट्रपति

नेकपा माओवादी केन्द्रले भने राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वा सोहि पार्टीका सम्मानित नेता झलनाथ खनाल मध्ये एक जना राष्ट्रिय सहमतिमा राष्ट्रपति बनुन् भन्ने चाहन्छ । यसलाई माओवादी केन्द्रका महासचिव देव गुरुङले पुष्टि समेत गरेका छन् ।

उनका अनुसार विगतमा कांग्रेस माओवादी र एकीकृत समाजवादीको बीचमा समाजवादीका सम्मानित नेता खनाललाई राष्ट्रपति बनाउने आन्तरिक सहमति नभएको होइन । तर खनाल आफै निर्वाचनमा उठेकाले अन्योल भएको महासचिव गुरुङले खुलाएका छन् । एमालेमा पनि दोस्रो तहका नेताहरु माधव नेपाललाई राष्ट्रपति दिएर पार्टी एकता गरौं भन्ने भावना दोस्रो तहका नेतामा रहेको आफूले पाएको माओवादी केन्द्रका महासचिव गुरुङले स्विकार गरे ।

गुरुङको विश्लेषणमा एमालेका दोस्रो तहका नेताको जोडबल लागेमा समाजवादीका अध्यक्ष माधव नेपाललाई ओलीले सहमतिको राष्ट्रपति मान्न तयार हुन सक्छन् । ओली र नेपालको बीचमा बढ्ता नै तिक्तता भएकाले विकल्पमा ओलीले खनालको नाम लिन पनि सक्ने माओवादी केन्द्रका महासचिव गुरुङले बताए ।

 

  • ९ फाल्गुन २०७९, मंगलवार ०८:०५ प्रकाशित