‘अब दलितका दर्शनलाई स्थापित गर्नुपर्छ’

केन्द्रभाग मिडिया

पोखरा ।

मुलुकमा अब दलितका दर्शनलाई स्थापित गर्नुपर्ने बेला आएको प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले बताएका छन् ।

आज पोखरामा सम्पन्न दलित आन्दोलन र आरक्षण निति विषयक प्रदेशस्तरीय विचार गोष्ठिमा बोल्दै पहाडीले सो कुरा बताएका हुन् ।
पहाडीले दलितका लागि आरक्षण मात्र छुट्याएर नपुग्ने बताउँदै अब दलितको दर्शनलाई स्थापित गर्नतर्फ लाग्नुपर्ने बताए ।
गोष्ठिमा बोल्ने अन्य वक्ताहरुले दलित प्रतिको बुझाईमा समस्या रहेको त्यसका लागि अब आरक्षण हैन दलित दर्शनलाई प्रमोट गर्नुपर्नेमा जोड दिए ।

दलितका समस्या र विभेदकाबारेमा बोल्ने तहमा दलित समुदायका व्यक्तित्व भएपनि दलित आन्दोलन सम्बोधन गर्ने तहमा अझै पुग्न नसक्नुले दलितका समस्या पूर्ण निर्मूल हुन नसकेको वक्ताहरुको भनाई थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यता रहेको उक्त गोष्ठिमा गण्डकीमा अब दलितका पक्षमा कानुन बनोस भन्दै वक्ताहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

वक्ताहरुको आग्रहमा जवाफ दिदैं मुख्यमन्त्री अधिकारीले दलित आन्दोलन सधै आफनो प्राथमिकतामा रहेको र गण्डकी प्रदेश सरकारले पनि यसलाई महत्वका साथ लिइरहेको बताए ।

यस्तै कार्यक्रमका विशेष अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्यले सधै आरक्षण राख्नु उपयुक्त नहुने बताए ।आचार्यले जातको आधारमा नभई अवसर र आर्थिक हिसाबले पिछडिएकालाई ध्यानमा राखेर आरक्षण छुट्याउनुपर्ने भनाई राखे ।

 गोष्ठीमा प्रतिनिधिसभा सदस्य शिव नेपाली , गण्डकी प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री सिता सुन्दास लगायतका अतिथिले बोलेका थिए ।

  • ७ फाल्गुन २०७९, आईतवार १६:०६ प्रकाशित