जनताको त्याग र तपस्याले गौरवमय परिस्थितीमा आएका छौ : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड छ ।

त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, “आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ ।”

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित प्रधानमन्त्रीले समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

  • ७ फाल्गुन २०७९, आईतवार ०९:०८ प्रकाशित