पोखरा ।
पूर्व राजा ज्ञानेन्द्र शाहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले मुलुकको समृद्धिमा योगदान दिन नसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न’ उनले भनेका छन् ।
देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताए। उनले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव समेत अघि सारेका छन् ।













