पोखरा ।
पोखराका ग्यास उद्योग र डिपोहरुमा अनुगमन भएको छ । पर्यटन, उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्त हित संरक्षण निर्देशनालयको समन्वयमा शुक्रबार अनुगमन भएको हो । अनुगमनमा खासगरी ग्यास सिलिण्डरको मिति र सुरक्षालाई हेरिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।
उनका अनुसार कास्कीमै उद्योग रहेका गृहलक्ष्मी र शक्ति ग्यास सामान्य हिसावले ठिकै पाइएको छ । कास्की बाहिर उद्योग रहेका ग्यास सिलिण्डरको म्यादको विषयमा भने एकीन गर्न निर्देशन दिइएको उनले बताए । ‘हामीले खासगरी ग्यास सिलिण्डरको म्यादलाई हेरेका हौं । कास्कीमा रहेका उद्योगहरुको समान्यढंगले हेर्दा ठिक नै पाएका छौं । कास्की बाहिरका उद्योगहरुबाट ल्याइएका सिलिण्डरको विषयमा भने अन्योल नै रह्यो । हामीले त्यसको डिटेल ल्याउन अनुगमन समितिले निर्देशन दिएको छ’ उनले भने ।
ग्यास उद्योग अनुगमनका क्रममा ग्यास रिफिलिङ गर्ने, सुरक्षित राख्न गरिएको विभिन्न उपाय, र विपद् परिहाले के गर्ने भन्ने विषयमा चासो राखिएको थियो । अनुगमनका बेला दुबै उद्योगमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा सामान्य प्रयोग गरेर समेत त्यहाँका कर्मचारीले देखाएका थिए ।
पर्यटन, उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्त हित संरक्षण निर्देशनालयका निर्देशक प्रविण ढकालले उद्योगमा राम्रै देखिएको प्रतिक्रिया दिए । ‘ठ्याक्कै कति सुरक्षित भन्ने विषय प्राविक पक्ष रहेपनि हेर्दा सुरक्षित नै पायौं,’ अनुगमन पछि निर्देशक ढकालले भने ।
शक्ति ग्यास उद्योगका वरिष्ट प्रवन्धक मेघराज पौडेलले अवश्यक सुरक्षाका उपकरण जडान गरेर पुरै मापदण्ड पुरा गरेको दावी गरे । उनका अनुसार शक्ति ग्यासमा अत्याधुनिक अमेरिकन कम्प्रेसर ब्ल्याकमेयर फायर प्रुफ मेसिन प्रयोग गरिएको छ । उक्त मेसिनले प्रक्रियामा रहेको ग्यास कतै लिकेज भएमा तत्काल आफै कन्ट्रोल गर्ने हुँदा सुरक्षित रहेको जानकारी दिए ।
सुरक्षाकै लागि उक्त कम्पनीले विभिन्न केन्द्रमा १७ वटा फायर फाइटर सिलिन्डर तयारी अवस्थामा राखिएको छ । ३ इन्चको फायर पाइटिङ पाइप मार्फत तत्काल आगलागी नियन्त्रण गर्न मिल्ने प्रविधि जोडिएको छ । त्यसैगरी ३ लाख लिटर क्षेमताको अन्डरग्राउण्ड ट्यांकीमा पानी राखेर त्यस मार्फत ट्यांकर र भण्डार ट्यांकमा तत्काल पानी खसाल्ने प्रविधि जडान गरिएको छ । ग्यास भर्ने डेनमार्कबाट ल्याइएको अटोमेटिक सियुसी मेसिन प्रयोग भएका छन् । उक्त मेसिन मार्फत भर्ने क्रममा समेत लिकेज र जोखिम नहुने उनले जानकारी दिए ।
यता गृहलक्ष्मी ग्यास कम्पनि पालिले पनि सुरक्षाका लागि सबै उपाय अपनाएको दावी गरेको छ । उक्त कम्पनिका अध्यक्ष धर्मराज बर्तौलाले आफ्नो कम्पनी पूर्णरुपले सुरक्षित रहेको जानकारी दिए । ‘हामीले सुरक्षाका सबै उपाय अपनाएका छौं,’ उनले भने, ‘।’
गृहलक्ष्मीले पनि पानीको प्रवन्ध, फायर फाइटिङ सिलिन्डर सबैको प्रबन्ध आवश्यक अनुसार तयारी अवस्थामै राखेको पाइएको छ । अन्डरग्राउन्ड ट्यांकीमा प्रयाप्त पानी, त्यसलाई ट्यांकर र ट्यांकमा पु¥याउने विधि सबै ठिकठाक राखिएको सञ्चालक अमगाईले जानकारी दिए ।
उनका अनुसार उद्योगमा लिकेज सिलिन्डर र तौल तलमाथि भएका सिलिन्डर आफै मेसिनले छुट्याउने र पुनः चेकजाँच गरिहाल्ने प्रबिधि जाडान छ । उक्त कम्पनीले फायर फाइटर सिलिन्डर ९ केजीका २५ स्थानमा तयारी अवस्थामै राखेको छ । त्यसैगरी ५० केजी क्षेमताका छुट्टै ३ वटा सिलिन्डर पनि तत्काल प्रयोग गर्न मिल्ने अवस्थामा राखेको छ । ९ सय लिटर क्षेमताको अन्डरग्राउन्ड ट्यांकीमा पानी भरेर तयारी अवस्था मै छ ।
पोखरा ६ जरेबरमा रहेको राजधानी ग्यासको डिपो र बाबा ग्यासको डिपोमा समेत अनुगमन गरिएको थियो । व्यवसायीहरुका अनुसार पोखरा मा १५ वटा कम्पनीको ग्यास आउँछ । पोखरामा उद्योग भएका कम्पनीका सिलिण्डर कम्पनीमै पुगेर हेरिएको भएपनि बाहिरका कम्पनीबाट आएका सिलिण्डरलाई भने म्याद नसकिएको प्रमाणित गरेर कागेजात ल्याउन आग्रह गरिएको छ ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कोइरालाले उपभोक्तामा सचेतना ल्याउन र साबधानी अपनाउन जनचेतना मुलक अभियान चलाउने निर्णय भएको जानकारी दिए । यसमा उद्योग, सरकारी निकाय र समुदाय सबैको दायित्व रहेको उनको भनाई छ ।
अनुगमनमा पर्यटन, उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्त हित संरक्षण निर्देशनालयका निर्देशक प्रविण ढकाल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिव गौतम, नापतौल तथा गुणस्तर कार्यालय पोखराका सहायक निरीक्षक रघु पौडेल, उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला र बजार अनुगमन समितिका सदस्य सचिव प्रदिप रेग्मी लगायत सहभागी थिए ।