काठमाडौँ ।
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ ।
बुधबार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको मुम्बईमा उपचार सुरु गरिएको छ । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । सांसद भण्डारीसँगै रहेका व्यवसायी योगराज कँडेलका अनुसार भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ ।
चिकित्सकलाई उद्धृत गर्दै कँडेलले दिएको जानकारीअनुसार शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गरिने छ । भण्डारीको हृदयको चाल नर्मल रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको कँडेलले बताए । यस्तै भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए ।
सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए ।














