अवैध लागूऔषध सहित ११ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ११ जना पक्राउ परेका छन्। मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी अवैध लागूऔषध गाँजा फेला पारी गाडीचालक बारा बौदिमाई नगरपालिका–४ बस्ने २० वर्षीय राजकुमार राम सहित ४ जना र ना.२१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–९ बस्ने १९ वर्षीय नवराज थिङलाई अवैध लागूऔषध गाँजा करिब ६० ग्राम सहित फेला पारी प्रहरीले गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय आशिष वली र २९ वर्षीय वसन्त वली रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सुपप्र ०१–००१० प ७९९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कञ्चनपुर, पुनर्वास नगरपालिका(११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम, नगद ४ हजार ४२० भारतीय रुपैयाँ, ६ हजार ४९० नेपाली रुपैयाँ, विभिन्न देशका सिक्का ७ थान र डिजिटल तराजु १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले सविनको घरमा लागूऔषधको कारोबार गरिरेहेको अवस्थामा उक्त लागूऔषध, नगद र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

बाँके, बैजनाथ गाउँपालिका–२ माथिल्लो पितमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

झापा, झापा गाउँपालिका– ६ भृकुटी चौक बस्ने ३० वर्षीय हेमनारायण चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ६५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको घरमा लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

चितवन,खैरहनी नगरपालिका–९ बैरहनी चोकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पैदलयात्रीले झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो। हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

  • ४ फाल्गुन २०७९, बिहीबार १४:५४ प्रकाशित