पोखरा ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सदन किराँतीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएकाले छनोटमा ध्यान दिनुपर्ने बताएका छन् ।
त्यसका लागि साझा व्यक्तित्व आवश्यक हुने भन्दै उनले माओवादी केन्द्र त्यस्तै साझा व्यक्तिको खोजीमा रहेको धारणा राखे । विहिबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
मन्त्री किराँतीले संविधानले परिकल्पना गरेको भूमिका अनुरुपको पात्रको खोजी भइरहेको टिप्पणी गरे । ‘हाम्रो संविधानले परिकलप्नना गरेको राष्ट्रपति एकताको प्रतिक हो ।’ उनले भने, ‘हामी त्यस्तो साझा व्यक्तिको खोजीमा छौं ।’
माओवादी केन्द्रले राष्ट्रिपतिमा कांग्रेसका उम्मेदवारलाई नै समर्थन गर्ने औपचारिक निर्णय गर्ने तयारी बारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो कान आफैसंग रहेको जानकारी आफैलाई भएको भन्दै आफू कानको पछि नदौडने जवाफ फर्काए ।
अहिले कसलाई समर्थन गर्ने भन्ने विषयमा औपचारिकरुपमा त्यस्तो कुनै निर्णय गर्ने तयारी नभएको संकेत गर्दै उनले यस्तो जवाफ फर्काएका हुन् । ‘सबैले मान्ने पात्रको खोजी भएको छ । मेरो कान म संगै रहेको म जानकार छु । त्यसैले म कागको पछि दौडन्न’ उनले भने ।













