काठमाडौँ ।
गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्स दुर्घटना हुन करिब १४ सेकेन्ड अघि मात्र प्रशिक्षक क्याप्टेनले जहाजको नेतृत्व लिएको प्रतिवेदन सार्वजनिक भएको छ।
दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले जहाज दुर्घटना हुन १४ सेकेण्ड बाँकी छँदा मात्र फ्लाइट कमाण्ड परिवर्तन गर्दै प्रशिक्षार्थी अञ्जु खतिवडाको कमाण्डबाट प्रशिक्षक क्याप्टेन कमल केसीले जहाजको नेतृत्व लिएको निष्कर्ष निकालेको हो ।
जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । जहाज ल्यान्डिङ हुन करिब १ मिनेट अघि मात्र दुर्घटनाग्रस्त हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘जहाज दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघि मात्र दोस्रो पाइलट जहाज नियन्त्रणको सिटमा बसेका छन्। जतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो । को–पाइलटले जहाज नियन्त्रण गर्न नसकेपछि मुख्य पाइलटले जहाजको नेतृत्व लिएको देखिन्छ ।
त्यतिबेला सम्म जहाज निकै तल झरिसकेको र जहाज मोड्न खोज्दा जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको उल्लेख गरिएको छ । जसका कारण इन्जिनले काम गर्न नसक्दा जहाज सेती खोचमा झर्न पुगेको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।














