पोखरा ।
स्याङ्जाको पुतलीबजार र फेदिखोला गाउँपालिकामा कोल्ड स्टोरमा राखिएको सुन्तला कुहिएको विषयमा गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् ।
उनले सुन्ताला कुहिनुको कारण पत्ता लागेकाले अबका दिनमा कुहिन नदिन सबै प्रकारका उपायए अपनाइने प्रतिवद्धता जनाए । सुन्य समय र विशेष समयमा सांसदले उठाएको प्रश्नको बुधबार प्रदेश सभामा जवाफ दिँदै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
टिप्ने समय र तरिका नमिलेको, भण्डारण गर्नुभन्दा पहिले पूर्व उपचार नगरिएको, प्रविधिक, सापेक्षिक आद्रता, अक्सिजन, कर्वन डाइअक्साइडको लगायतका कारणले सुन्तला कुहिएको उनले बताए । मन्त्री गुरुङले अब पूर्व उपचार प्लान्ट जडान गन, कोल्ड स्टोरलाई स्वचालित प्रविधियुक्त बनाई तापक्रम र सापेक्षित आद्रता र ग्यासको मात्रा नियन्त्रण गर्ने व्यवस्था मिलाइने बताए ।
‘सुरुमा सानो परिमाणमा भण्डार गर्दा समस्या आएन । अहिले धेरै राख्दा समस्या आयो । नेपाली सुन्ताला भण्डारणको उपयुक्त विधि तथा प्रविधि विकासका लागि नेपाल कृषि अनुसन्धान परिषदसंग समन्वय गरेर अनुसन्धानलाई अगाडि बढाउने तयारी गरेका छौं । सुन्तला प्रदेशको प्राथमिकतामा रहेको बाली भएकोले यसको क्षेत्र विस्तार, उत्पादन प्रवद्र्धन, उपयुक्त भण्डार तथा बजारीकरणका लागि मन्त्रालयले आगामी दिनमा प्राथमिकताका साथ विशेष कार्यक्रम सञ्चालन गर्नेछ’ उनले भने ।
यो वर्ष स्याङ्जामा एक अर्व रुपैयाँभन्दा धेरैको सुन्तला उत्पादन भएको उनले जानकारी दिए ।