पोखरा ।
फेवातालको जलसतह घटेको छ । लामो समय वर्षा नभएसंगै तालको जलसतह पुरै एक मिटर घटेको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय कास्कीका प्रमुख इ. किरण आचार्यले जानकारी दिए ।
उनका अनुसार तालको उचाई (जलसतह) समुन्द्री सतहदेखि ९९४ मिटर रहेकोमा हाल त्यसमा एक मिटर घटेको छ । एक मिटर सतह घट्दा ५ अर्ब लिटर पानी घट्ने इ. आचार्यले जानकारी दिए । तालको जलसतह एक मिटर घट्दा अधिकांस तालको किनार झण्डै बगरमा परिणत भएको देखिन्छ ।
गत वर्ष तालको ड्याम मर्मत गर्दा दुइमिटर पानी घटाएर मर्मत गरिएको थियो । अहिले दशैंपछि नै पानी नपरेको जानकारी दिँदै आचार्यले उक्त सतह एक दिन राम्रो पानी परेमा भने भरिने समेत बताए ।
तालमा अहिले हर्पन खोलामात्र पानीको स्रोत हो । सेती जल विद्युत आयोजनाका लागि तालबाट अहिले २ हजार लिटर प्रतिसेकेण्ड पानी लगिएको छ । ‘दशैं देखि पानी परेको छैन । पानीको श्रोत भनेकै हर्पन खोला मात्र बनेको छ । त्यसमा झण्डै २ हजार लिटर पानी सेती जल विद्युत आयोजनाका लागि लगिएको छ’ उनले भने ।