पोखरा ।
माघ १ गते पोखराको सेती खोचमा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएपछि जहाजमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घटेको छ । विमान दुर्घटना भएपछि सर्वसाधारण यात्रुमा त्रास रहँदा यात्रुको संख्या घटेको हो ।
विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन दोहोरो ४८ वटासम्म उडान हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जानकारी दिइन्। दुर्घटनापछि यो संख्या घटेर २६ वटा उडानमा झरेको छ ।
पोखरा विमानस्थलको अनुसार पुस २९ मा ४८ उडान हुँदा पोखरामा १ हजार ४ सय यात्रु भित्रिएका थिए भने पोखराबाट १ हजार ३ सय २९ यात्रु बाहिरिएका छन् । माघ ९ मा २६ उडान हुँदा पोखरामा जम्मा ४ सय ६६ यात्रु भित्रिएका छन् भने ५ सय ६१ बाहिरिएका छन् ।
पोखराको नयाँ अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै उत्साहित बनेका पोखरेली यति बेला निराश बनेका छन् । ७२ जनाको ज्यान लिने गरि भएको भयानक विमान दुर्घटना पछि यात्रु त्रसित बनेका हुन् ।
बिस्तारै नेपालको आकाश सुरक्षित रहेको सन्देश गइरहेका बेला माघ १ को जहाज दुर्घटनाले थप अप्ठ्यारो बनाएको छ ।अहिले विदेश जाने यात्रु र पोखरा घुम्न र कामले आवतजावत गर्ने यात्रुले सडकमार्ग रोज्न थालेका छन् ।
दुर्घटनापछि यात्रु घट्दा पोखराको पर्यटन धरापमा परेको छ । विदेशी पर्यटक पनि घुम्नका लागि आउन डराएपछि लेकसाइडका गल्ली,सडक र होटेल सुनसान जस्तो बनेको छ । पर्यटनमा यस घटनाले असर पुर्याएपछि पोखरेली पर्यटन व्यसायीले छिटो भन्दा छिटो दुर्घटनाको छानबिन गर्न माग गरेका छन् ।