पोखरा ।
तेस्रो टाईगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिमा सशस्त्र प्रहरी बलले जितेको छ। विभागीय डर्बी भिडन्तमा सशस्त्रले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा पन्छाउँदै उपाधि प्रतियोगिताको विजेता बनेको हो ।
टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाइनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो। पहिलो सेट २५–२० ले लिएको सशस्त्रले दोस्रो सेट भने उस्तै लयमा रहन सकेन। आर्मीले खेल सुधार्दै सशस्त्रलाई २२–२५ को सेटमा पराजित गर्दै खेल बराबरीमा ल्यायो।
तेस्रो सेट २५–८ को स्थितिमा गुमाएको आर्मीले चौथो सेटमा पनि उत्साहजनक देखाउन सकेन। चौथो सेट २५–२२ को सेटमा पराजित हुँदैं आर्मीले उपविजेतामा चित्त बुझायो। सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्यो। आर्मीले २ लाख ५० हजार प्राप्त गर्यो। एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।















