टाइगर कप भलिबल : फाइनलमा गण्डकी र एपीएफ भिड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ एपीएफ क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन् ।

पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएर गण्डकी फाइनलमा प्रवेश गरेको हो ।

आर्मीकोविरुद्ध गण्डकीले २५–२३,२५–२३ र २५–१६ को सेटमा जित निकालेको हो । अब गण्डकीले उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिसलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरिसकको छ ।

महिलातर्फ फाइनल पुग्ने टोलीको तय यस अघि नै भईसकेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब उपाधिका लागि भिड्ने छन् ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि विजेता टोलीले ५५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै उपविजेता टोलीले समान २ लाख ५० हजार, तेश्रो हुनेले १ लाख २५ हजार र सान्त्वना पुरस्कार स्वरूप चौंथो हुनले ६५ हजार पाउने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

  • १३ माघ २०७९, शुक्रबार १७:३७ प्रकाशित