काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकतासम्बन्धी रिटमा लिखित जवाफ पेस गरेका छन् । लामिछानेको शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका हुन्
जवाफमा लामिछानेले २०७० फागुन १० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता २०७५ जेठ ५ मा त्यागेको स्वीकार गरेका छन् । उनले २०७०मा अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्याग नगरेको हुँदा नागिकरता पुनः प्राप्ति सम्बन्धी प्रावधान पूरा गर्न नपर्ने भएको उल्लेख गरेका छन् ।
अन्तरिम आदेशका लागि छलफलमा उनका कानुन व्यवसायीले बहस गरेजस्तै उनले आफ्नो लिखित जवाफमा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने जिकिर लिएका छन् । उनले आफ्नो नागरिकता सम्बन्धी विवाद करिब पाँच वर्ष अघि नै उत्पन्न भई त्यही बेला निरुपण भएको समेत जनाएका छन् ।
“प्रस्तुत विवादमा निर्विवाद तथ्य के हो भने मैले अमेरिकाको नागरिकता त्यागी सकेको र मेरो साबिककै नेपाली नागरिकता पुनः कायम रहेको छ । तसर्थ, म नेपाली नागरिक होइन भनी प्रश्न उठाउने निवेदकले म विदेशको नागरिक रहेको प्रमाण सम्मानित अदालतमा पेश गर्न सक्नुपर्छ अन्यथा मजस्तो नागरिकको निजी जीवन, म र मेरो देशको सम्बन्धनलाई जोड्ने मेरो नागरिकताको बारेमा झुठो आरोप लगाउन मिल्ने होइन,” लामिछानेले भनेका छन् ।













