काठमाडौं ।
९९ दिनको प्रहरी हिरासतबाट आज मुक्त भएपछि क्रिकेटर सन्दीपले लामिछानेले छिट्टै क्रिकेट मैदानमा फर्किने बताएका छन् ।
नाबालिगमाथि बलात्कार आरोपमा सन्दीप लामिछाने प्रहरी हिरासतमा थिए । सर्वोच्च अदालत पाटनले हिजो लामिछानेलाई धरौटीमा हिरासतमुक्त गर्न आदेश दिएको थियो । लामिछानेले २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए।
यो मुद्दाको किनारा भने लागिसकेको छैन।अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।
सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग पनि सुझाव माग्नेछ।त्यसपछि मात्र क्यानले निर्णय गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ।
शुक्रबार थुनामुक्त भएपछि सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने बताए। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुनस् थुनामा पठाइनेछ।
उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्।
अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ।














