दर्ता भयो वीपी स्मृति पुस्तकालय गण्डकी, अध्यक्षमा बास्तोला

केन्द्रभाग मिडिया

पोखरा ।
वीपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आजदेखि विधिवत दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो ।

संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली कांग्रेस गण्डकी प्रदेशका पार्टी सभापति एवं पुस्तकालयका संरक्षक शुक्रराज शर्मा, महामन्त्री एववं संरक्षक विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालयका अध्यक्ष एवम् नेपाली कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला मधुलाई हस्तान्तरण गरे ।

वीपीका राजनीतिक एवं साहित्यिक दस्तावेजसँगै विभिन्न खोज तथा अनुसन्धानात्मक कृतिको संग्रहसँगै प्रदेशकै एउटा अध्ययनको केन्द्रका रूपमा पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिइएको पुस्तकालयका संरक्षक एवं नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।
“पुस्तकालय विपीका सम्बन्धमा शोध तथा अनुसन्धान गर्नेका लागि पनि महत्वपूर्ण गन्तव्य हुनसक्छ”, उनले भने ।

पुस्तकालयसँगै नेपाली कांग्रेस गण्डकी प्रदेशले स्थापनाको लक्ष्य लिइएकोे ५० लाख रूपैयाँको अक्षयकोषबाट गण्डकी प्रदेशमा प्रजातन्त्रका लागि विशिष्ट योगदान गर्ने ११ वटै जिल्लाका ११ जनालाई वार्षिक रूपमा २५ हजार रूपैयाँ नगद सहित सम्मान गर्ने लक्ष्य लिइएको नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले जानकारी दिए।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको अगुवाईमा नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारीहरू संरक्षक रहने गरि स्थापित पुस्तकालयको तदर्थ समितिको अध्यक्षमा माधव प्रसाद बास्तोला, प्राडा. कुसुमाकर न्यौपाने उपाध्यक्ष, सूर्यबहादुर क्षेत्री सचिव, शिरोमणि बराल कोषाध्यक्ष, कविता तिवारी सहसचिव र सदस्यहरूमा कमल सापकोटा, दीपेन्द्र पराजुली, डा. रघुराज काफ्ले, शोभा अधिकारी, शकुन्तला शर्मा, रमेश अधिकारी, अरूण राज पौडेल, पदमबन्धु पोखरेल, दिपक रेग्मी र पदम श्रेष्ठ रहेका छन् ।

  • २८ पुष २०७९, बिहीबार २१:३२ प्रकाशित