चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चुनाव जितेपछि पहिलोपटक आज चितवन जाने भएका छन् । रवि चितवन महोत्सवमा जाने भएका छन् । लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न जाने भएका हुन्। गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।
त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुडफेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीले आज साँझ ६ बजे फुड फेस्टिभलको उद्घाटन गरिने जानकारी दिए । चितवन महोत्सवको अवसरमा हुँदै आएको फुड फेस्टिबल यस पटक पनि नारायणगढको क्याम्पाचौरमा आयोजना हुँदैछ ।













