पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा सुरु वडा १५ स्तरीय बृहत खेलकुद महोत्सवमा ९ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्दैछन् ।
बन विज्ञान अध्यायन संस्थानको मैदानमा बुधबारदेखिनै खेलको अनौपचारिक शुरुवात भएको छ । वडा १५ का वडाध्यक्ष तोरण बानियाँले रेफ्रिीभक्त गुरुङलाई बल हस्तान्तरण गर्दै अनौपचारिक रुपमा खेलको सुरुवात गरे । ‘औपचारिक उद्घाटन बिहीबार हुदैछ, सहभागि खेलाडी धेरै भएकाले तीन दिनमा प्रतियोगिता नसकिने भएपछि खेल शुरु ग¥यौं’वडाध्यक्ष बानियाँले भने ।
प्रतियोगिता संयोजक समेत रहनुभएका वडा सदस्य आशिष भण्डारीका अनुसार अन्तर क्लव फुटबलमा १७, विद्यालय स्तरियमा ५, महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १८ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जनाले, ५० वर्ष माथिको पुरुष दौडमा २६ जनाले तथा फरक क्षमता भएकाहरुको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले भाग लिएका छन् ।
वडाको युवा लक्षित कार्यक्रम अन्र्तगत बृहत खेलकुद महोत्सव आयोजना गरिएको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए। ‘स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न यो प्रतियोगिता आयोजना गरिएको हो’ भण्डारीले भने । यो कार्यक्रमलाई वडाको वार्षिक कार्यक्रममा राखेर वर्षेनी सञ्चालन गरिने उनको भनाई छ । यही ३० पुससम्म यो प्रतियोगिता सञ्चालन हुने आयोजक वडा समितिले जनाएको छ ।