काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु इतिहासकै गौरवपूर्ण अध्याय भएको बताएकी छिन् ।
पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरण हुनु विशिष्ट र गौरवपूर्ण रहेको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् ।तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन् ।
‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौं ।’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।













