काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा दैनिक लाइन काट्न सुरु गरेको छ । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै प्राधिकरणले दैनिक विद्युत कटौति थालेको हो । विहारमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणको दाबी छ ।
यसैकारण प्राधिकरणले केही दिनका लागि भन्दै उद्योगहरुलाई जानकारी गराएरै साँझ र विहानको ‘पिक आवर’मा लाइन काट्न थालेको छ । प्राधिकरणले विद्युत कटौती थालेपछि उद्योगहरु मारमा परेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाका अनुसार दैनिक ९ घण्टासम्म अघोषित लोडसेडिङ हुन थालेको छ । ‘२४ घण्टा नै चल्ने उद्योगहरु बिजुली कटौतीले प्रभावित भएका छन्,’ उनले भने ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई विहारमा आकस्मिक रुपमा उत्पादन प्रणालीमा समस्या आएका कारण आयात रोकिन पुग्दा समस्या आएको बताउँछन् ।
प्राविधिक कारण देखाएर ‘स्टेट इलेक्ट्रिसिटी’ले नेपालले आयात गरिरहेको बिजुली रोकेका कारण उद्योगहरुमा दैनिक ७ घण्टासम्म बिजुली आपूर्ति प्रभावित हुन पुगेको बताउँछन् । करिब एक सय मेगावाटभन्दा बढी बिजुलीको आयात प्रभावित भएपछि उद्योगहरुलाई जानकारी दिएरै विद्युत काट्न थालिएको उनले बताए ।
विहान ७ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि १० बजेसम्म भारतबाट भइरहेको आयात प्रभावित भएकाले समस्या भएको उनको दाबी छ ।














