पोखरा ।
गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर गर्न नआउदा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका एमाले नेताहरु रोकिएका छन् । पोखराको एक होटलमा रहेका एमाले सांसदहरु माओवादी सांसदहरुको पर्खाइमा छन् । बिहानै ९ बजेबाटै एमाले सांसद होटलमा पुगे पनि माओवादी सांसदहरु भने पार्टीको आधिकारीक जानकारी नआएको भन्दै हस्ताक्षर गर्न गएका छैनन् ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आफुहरु तयारी अवस्थामा रहे पनि केन्द्रबाट निर्देशन नआएकाले हस्ताक्षर गर्न नगएको बताए ।
सत्ता साझेदार दलबीच भएको प्रदेश भागबण्डामा गण्डकीको मुख्यमन्त्री पूरै कार्यकाल एमालेको भागमा परेको छ । माओवादीले सभामुख पाएको छ भने उपसभामुख पनि एमालेकै पोल्टामा परेको छ । माओवादी दलका नेता चुमान मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने र यस पटिक पहिलो मुख्यमन्त्री माओवादीले पाउनुपर्ने अडानमा छन् ।
गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थनमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने तयारीमा छन् । प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम दिन आज ४ बजेसम्म दलहरु दाबी पेश गर्न जाने तयारीमा छन् । तर, माओवादीले भने हस्ताक्षर गर्न ढिला गरिरहेको छ ।
सत्ता गठबन्धनबाहेक गण्डकीमा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ सांसद छन् ।













