पोखरा ।
गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले)प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ । एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरिने बताए ।
बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न हामी तयार भएको नेपालीले जनाएका छन् । उनको अनुसार अहिले गठबन्धन दलका ३२ सदस्यको समर्थन छ ।विश्वासको मत लिने बेलासम्म सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रदेशसभामा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा माओवादी केन्द्रको आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो । प्रदेशसभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा एकीकृत समाजवादीसँग एक सिट छ ।
प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने संवैधानिक व्यवस्था छ । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुङ्गो लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो ।
नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित भएका थिए ।













