पोखरा ।
पत्रकार भीम थापाले आफूले प्राप्त पुरस्कार रकम मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । उनले शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा प्रदान गरेको पत्रकाररिता पुरस्कार स्वरुप पाएको रकम पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका हुन् । आइतबार आश्रममै पुगेर आफूले प्राप्त गरेको पुरस्कार नगद ११ हजार ११० रुपैयाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौंलालाई हस्तान्तरण गरे ।
मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताए ।
एक जना श्रमजीवीको समाज प्रतिको दायित्व र कर्तव्य पालनाको ज्वलन्त उदाहरणका रूपमा आफूले यसलाई लिएको उनले बताए । पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पत्रकार थापाले गरेको सहयोगलाई सिङ्गो पत्रकारिताको प्रतिनिधिका रूपमा मानव सेवा प्रतिको गहिरो सेवा भावका रूपमा आफूले लिएको बताए ।
कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले असल कर्मका कमलजीवीलाई व्यवसायीक पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गरे ।
एसोसिएसनका पूर्व अध्यक्ष नवीन नापितले असल कर्म कुनै पनि पेसा व्यवसाय र व्यक्तिका लागि वाञ्छनीय नहुने बताए । पत्रकार थापाले सुरु गरेको असल संस्कारको निरन्तरतामा जोड दिए । सो क्रममा पूर्व अध्यक्ष नापितले नगद १ हजार ५ सय रुपैयाँ मानव सेवा आश्रमलाई उपलब्ध समेत गराए ।
आश्रमका सञ्चालक होमनाथ मानवसेवाले मानवता प्रवर्द्धनको अभियानमा यस्तो प्रकृतिको सेवा पहिलो भएको बताए । पोखरामा बर्सेनि दर्जनौँ पत्रकारिता सम्बन्धी पुरस्कारहरू वितरण गरेको सुनिए पनि पहिलो पटक नजिकबाट आभास गर्न पाएको बताए । सुन्दर हृदयमा मानवताका सुन्दर फुलहरू फुल्ने बताउँदै उनले पत्रकार थापाको सहयोग त्यही सुन्दर आत्माको एक प्रतिकका रूपमा आफूले आभास गरेको बताए ।
पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गरेका थिए । प्रतिष्ठानले प्रत्येक वर्ष श्री अर्नाकोट माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू छात्रवृत्तिका रूपमा प्रदान गर्दै आएको छ ।














