रमेश प्रसाद पौडेल ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय फैसला भएका एक प्रतिवादी २३ वर्ष पछि पक्राउ परेका छन् ।
मिति २०५६ साउन २२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई धारिलो हतियार प्रहार गरि हत्यामा संलग्न हुने उमेश गिरी २३ वर्षपछि पक्राउ परेका हुन् ।
उमेश गिरी वारदात पश्चात् भागेर लामो समयसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेश बसेर केही वर्ष अगाडी नेपाल स्थित चितवनको धनगडा मन्दिर आसपासको क्षेत्रमा लुकी छिपी बस्दै आएको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले यहि पौष २३ गते अर्थात हिजो साँझ ४ ः २५ बजेको समयमा पक्राउ गरेको हो ।
जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं। १२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलमा रहेको सिमा अधिकारीको घरमा कोठा भाडामा लिएर लुकी छिपी बस्दै आएको अवस्थामा गिरीलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनलाई पौष २४ गते अर्थात आज कास्की जिल्ला अदालतमा उपस्थित गराई जन्म कैद (२५ वर्ष) भुक्तानको लागि कारागार कार्यालय कास्की थुनामा पठाएको प्रहरीले जनाएको छ ।
उक्त हत्यामा पेले भन्ने प्रेम कुमार पुन, खेलेन भन्ने दिपक पुन, श्याम भन्ने कुमार पुन, आनन्द प्रधान, लक्ष्मी प्रसाद पराजुली, डिके भन्ने डिक प्रसाद पुन, योगेश पुन, पाण्डुवा भन्ने मोहन गाइने, पुरथ गौचन र उमेश गिरी संलग्न रहेका थिए ।
२०५८ चैत १ गते फैसला हुँदा प्रतिवादी पेले भन्ने प्रेम कुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दिपक पुनलाई सर्वस्व सहित जन्मकैद, पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिक प्रसाद पुन, लक्ष्मी प्रसाद पराजुलीलाई ३ वर्ष कैद र फरार प्रतिवादी उमेश गिरीको हकमा अ.ब. (९) बमोजिम मुत्लवीमा रहने ठहर भएको थियो ।
भने प्रतिवादी उमेश गिरीको हकमा मुत्लवीमा रहेको मुद्दा मिति २०६६ साउन २७ गतेको आदेशले मुत्लवीबाट जागी दर्ता भएपछि मुद्दामा मिति २०६६ फागुन २७ गते फैसला हुँदा प्रतिवादी उमेश गिरीलाई सर्वस्व सहित जन्मकैद ठहर भएकोमा निज प्रतिवादी हालसम्म फरार रहेका थिए।














