शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पानी भनेर दिएको स्प्रिट पिउँदा घाईते भएकी छात्राको ज्यान गएको छ। छात्राका ज्यान गएकापछि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।

प्रदर्शनकारीले ढुंगामुढा गरेपछि ६ राउन्ड हवाई फायर गरिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।ज्यान जानेमा सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा मावि मा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सिर्जना कुमारी महरा रहेकी छिन् ।

सिर्जनाले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिदाँ उनी अस्वस्थ भएकी थिइन् ।पुस २२ मा महिनावारी भएर पेट दुखेपछि सिर्जनाले औषधी मगाइन् । औषधी खान पानी माग्दा शिक्षिका अम्बिका लम्सालले दिएको स्प्रिट पिउँदा उनी अस्वस्थ भएकी हुन् ।

पानी भनेर झुक्किएर स्प्रिट दिने शिक्षिकालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।सिरहा नगरपालिका–११ भलुवाही घर भएकी सिर्जनाको उपचारको क्रममा कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा शनिबार साँझ मृत्यु भएको हो । छात्राको मृत्युपछि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रहरी र प्रदर्शनकारी बीच झडपमा हुँदा मिर्चैयाका डीएसपी हरि ओलीसहित ७ जना प्रहरी घाइते भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

  • २४ पुष २०७९, आईतवार १५:२७ प्रकाशित