माओवादी, नेकपा एस र जसपाबीच एकता प्रक्रिया सुरु हुदैं

केन्द्रभाग मिडिया

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन् ।

माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वमा, एकीकृत समाजवादीले पार्टीका महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको अध्यक्षतामा वार्ता समिति गठन गरेका छन् ।

तीन वटै दलबीच एकताका लागि शीर्ष तहमा अनौपचारिक सहमति भए पनि वाम एकता गर्ने कि समाजवादी केन्द्र बनाउने भन्ने कुरामा सहमति बन्न नसकेको स्रोतले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट तथा माओवादी शब्द हटाएर समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका छन् तर माओवादी र एकीकृत समाजवादी पार्टी कम्युनिस्ट शब्द राख्नुपर्ने पक्षमा देखिएका छन् ।

माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच हुन गइरहेको एकतामा पनि यो कुरा मुख्य रुपले उठेको छ । नेसपाका अध्यक्ष भट्टराईले पनि कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्न प्रस्ताव गरेका छन् । तर माओवादी केन्द्रले यसमा सहमति जनाएको छैन ।

जसपा नेपाल स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिइसकेपछि पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने छ ।

  • २४ पुष २०७९, आईतवार १३:४७ प्रकाशित