नारायणगढ–मुग्लिङ सडक पुस ३० र माघ १ को दिउँसो खुल्ला रहने

केन्द्रभाग मिडिया

चितवन ।

दिउँसोको समय बन्द रहँदै आएको नारायणगण्ढ मुग्लिङ सडक पौष ३० र माघ १ गते दिउँसो भने खुल्ला रहने भएको छ ।

हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी सो सडकखण्ड दुई दिन खुला रहने भएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ । तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए । अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ ।

देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ । गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए ।

  • २४ पुष २०७९, आईतवार १०:४० प्रकाशित