प्रदेशको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज आइतबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न लागेका हुन् ।

बैठक आज साँझ ५ बजे बस्ने बताइएको छ। बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ ।

प्रदेश नम्बर १ मा आइतबार सरकार गठनको अन्तिम डेडलाईन रहेको छ । यहाँ समस्या नभए पनि अन्य प्रदेशमा पनि सहमति खोज्ने प्रयास नेताहरूको छ ।

प्रदेश १ र गण्डकी एमालेले पाउने निश्चित हुँदा कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी गरिरहेको छ ।

मधेश प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । यहाँ दुवै दललाई आधा आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । ती दुई प्रदेश लुम्बिनी र बागमती हुन सक्छन् । यद्यपि बागमती नपाए कर्णालीमा एमालेको दाबी रहने नेताहरू बताउँछन् ।

  • २४ पुष २०७९, आईतवार १०:२३ प्रकाशित