कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ

केन्द्रभाग मिडिया

पोखरा ।

कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सीना, महासचिवमा चोक बहादुर गुरुङ, सचिवमा पूर्ण बहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजु निर्वाचित भए ।

सदस्यहरूमा रजनी चापागाईँ, ममता गुरुङ, दीपेन्द्रराज आचार्य, मीनराज तिमिल्सीना, नारायण प्रसाद अधिकारी चयन भएका छन् । शनिवार नै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रोशन आचार्य र वीरेन्द्र आचार्यलाई सदस्यमा मनोनीत गरेको छ भने, बाबुलाल अग्रवाल र विकास भालोटियालाई आमन्त्रित सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ ।

यसअघि एसोसिएसनको २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसायीका समस्याहरू प्रति आफू जानकार रहेको बताए । पोखरा महानगरपालिकाले यसअघि रहेको करको दरलाई घटाएको र व्यवसायमैत्री नीतिहरूको अवलम्बन गरेको उनले बताए । ‘व्यवसायीका समस्याहरू प्रति म जानकार नै छु, त्यस हिसाबले पनि यहाँलाई थाहा नै होला, हामीले सम्पत्ति कर घटाएका छौँ, व्यवसाय कर घटाएका छौँ, विज्ञापन कर खारेज गरेका छौँ, पार्किङ शुल्क खारेज गरेका छौँ, यद्यपि पार्किङ विषयमा थप व्यवस्थापन गर्न बाँकी छ’ उनले भने ।

महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने व्यवसायीतक समस्याहरूको समाधानका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । ‘हामीले अर्को ठुलो काम पनि गरेका छौँ, घर बहाल करको दरमा धेरै घटाइएको छ, १५ प्रतिशतबाट व्यक्तिको हकमा ४ प्रतिशत र व्यवसायीको हकमा ५ प्रतिशतमा घटाइएका छौँ । प्रमुख आचार्यले भने, ४ प्रतिशतमा झर्दा पनि घरधनीहरूले तिर्दैनन् भने त्यो कारबाहीका लागि योग्य हुन्छ ।’ घर बहालमा बस्नेले नै तिर्नु पर्ने अवस्थाको अन्त्यका लागि पोखरा महानगरपालिका सचेत रहेको उनले बताए । घर बहालका सम्बन्धमा दुई थरी खाता राख्ने प्रवृत्तिको अन्त्य जरुरी रहेको उनले बताए ।

कार्यक्रममा मादी गाउँपालिका वडा नं।४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य सुदिप ओझा, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष यमनाथ तिमिल्सीना र साँघु मुख महेन्द्र पुल बजार समितिका अध्यक्ष नवराज कोइराला लगायतले बोलेका थिए ।

रजत उत्सव समेत मनाएको एसोसिएसनले सो अवसरमा विभिन्न सम्मानहरू समेत प्रदान गरेको छ । पुराना व्यवसायी सम्मान सिलसिला इम्पोरियमका प्रोप्राइटर ध्रुव बाटाजु, महिला उद्यमी सम्मान रजनी चापागाईँ र कपडा पत्रकारिता पुरस्कार युवा पत्रकार भीम थापालाई प्रदान गरिएको छ । एक दशक लामो समयदेखि पोखराको पत्रकारितामा क्रियाशील पत्रकार थापालाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्र र दोसल्ला प्रदान गरिएको हो ।

एसोसिएसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला, अध्यक्ष नवीन नापित र महासचिव धर्ममान सिंह भण्डारीले व्यवसायीका समस्या र समाधानको विषयमा जानकारी गराएका थिए ।

 

  • २४ पुष २०७९, आईतवार ०८:०३ प्रकाशित