पोखरा ।
संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।
रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो ।
संकटाले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।
खेल अतिरिक्त समयमा धकेलिनु अघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।
३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए ।
खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २–१ को स्थितिमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल २–२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले विजयी गोल गरे ।
उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो ।
प्रतियोगितामा संकटाका कप्तान सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
सर्वोत्कृष्ट चुनिएका सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे ।