आहा ! रारा पोखरा गोल्डकप : उपाधि जित्नेमा दुवै टिम विश्वस्त

केन्द्रभाग मिडिया

पोखरा ।
आहा ! रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार फाइनल खेल हुदैछ । उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा अत्रने छन् ।

आयोजक साहारा क्लबले शुक्रबार आयोजना गरेको प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षकहरुले फाइनलको लागी आफू तयार रहेको बताएका हुन् ।

दोस्रो पटक फाइनल पुगेर दोस्रो पटक नै उपाधि जित्ने दाउमा संकटा छ । संकटाले हालैमात्र ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको छ ।संकटाको प्रशिक्षकमा सल्यान खड्गी फाइनलको लागि राम्रो तयारी गरेको बताउछन् । फेरि पनि उपाधि जित्ने नै हाम्रो लक्ष्य हो, हामीले नयाँ सिजनको लिगलाई नै फोकस गरेर तयारी गरेका छौँ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहा ! राराको नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको हो ।

अमेरिकी टिम भुटनिज युथमा अधिकांश खेलाडी विदेशी नै छन् । उचाइ र दौड क्षमता पनि संकटाका खेलाडीको तुलनामा उनीहरुकै बढी छ ।

भुटानीजका मुख्य प्रशिक्षक प्रदीप हुमागाइ पोखरा होम ग्राउन्डजस्तै रहेको बताउछन् । यसअघि पनि एकपटक उपाधि जितेको हो । हामीले सहज रुपमै लिएका छौं । निश्चित रुपमा खेल प्रतिस्पर्धात्मक हुने हुमागाइले बताए ।

भुटानीज टिमको कप्तानी गोलरक्षकसमेत रहेका पुजन थापा मगरले सम्हालेका छन् । फाइनल खेलमा अघिल्ला गल्तिलाई सुधार गरिने बताउछन् ।

  • २२ पुष २०७९, शुक्रबार १६:२७ प्रकाशित