वीरगञ्ज ।
तराईमा चिसो अत्यधिक बढेको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ ।तराईमा चिसोसगै शितलहरले पनि जनजिवन निकै कष्टकर बन्ने गरेको छ ।
हरेक वर्ष तराईमा चिसो र शितलहरको कारण स्थानीयले ज्यान गुमाउने गरेका छन् ।चिसोको कारण शैक्षिक संस्थाहरु प्रभावित बनेका छन् । चिसोले हिडडुल गर्नै मुस्किल भएपछि विद्यालयहरु धमाधम बन्द हुन लागेको छ ।
वीरगञ्ज महानगरपालिका सहित पर्साको पोखरिया नगरपालिका, जगरनाथपुर, जिराभवानी, सखुवाप्रसौनी गाँउपालिकाले पुस २२ गते शुक्रबारसम्म जाडो बिदा दिएका छन् ।
बाराको कलैया उपमहानगरपालिका, देवताल गाउँपालिकाले पनि ४ दिन विद्यालय बन्द गरेका छन् ।वीरगञ्ज महानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले मौसममा देखिएको प्रतिकुलतालाई मध्यनगर गरेर पुस २२ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिए ।
चिसोको कारण वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ ।एक साता यता यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको सर्वसाधरणले बताएका छन् ।
चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । विशेष गरी कोल्ड डायरिया, दम खोकीले सर्वसाधरणलाई सताएको चिकित्सकहरु बताउँछन् ।
शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिने गरेको छ ।














