काठमाडौं ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पठाओ र इनड्राइभ लगायत राइडसेयरिङ सञ्चालन गरिरहेको रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल बन्द गर्न माग गरेको छ ।
निजी प्रयोजनका लागि दर्ता (रातो प्लेट) भएका सवारी साधनहरुले भाडामा यात्रु ओसारपसार गरी सार्वजनिक यातायात व्यवसायलाई प्रत्यक्ष असर परेको भन्दै तत्काल नै बन्द गर्न माग गरिएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले बताए ।
उनले भने, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाईने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ती दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ती प्रयोग गर्न पाईने छैन भन्ने उल्लेख छ ।
यस्तै, सवारी तथा यातायात व्यवस्था नियमावलि २०५४ को दफ १२९च० मा निजी सवारी साधनले ऐनको दफा ८ (२) विपरित यातायात सेवाको लागि प्रयोग गरेमा दर्ताको प्रमाणपत्र बढिमा ६ महिनाको लागी निलम्वन गर्न सक्नेछ भन्ने कानुनी व्यवस्था भएकोमा निजी प्रयोजनका निम्ती दर्ता भएका अधिकांस सवारीसाधनहरुले कानुन विपरित भाडा लिई यात्रु ओसारपसार गर्न प्रयोग गरेको हुँदा यस्ता सवारीसाधनको अनुगमन गरी प्रयोजन विपरित सञ्चालन भएका निजी सवारीसाधनलाई प्रचलित कानुन वमोजिम कारवाहीको माग भएको छ ।’















