चिसो छल्न बेँसी झर्न थाले मनाङ बासी

केन्द्रभाग मिडिया

मनाङ ।

जाडो बढेसँगै मनाङका स्थानीय चिसो छल्न बेसी झर्न थालेका छन् । चिसोले जीवनयापन कष्टकर हुन थालेसँगै मनाङ्गेली लमजुङ, पोखरा, काठमाडौं लगायतका जिल्ला झर्न थालेका हुन् ।

मनाङमा चिसोको कारण विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन्। मनाङका विद्यालयले गत मङ्सिर अन्तिम सातामा परीक्षा सकाएर अहिले जाडो बिदा दिएको छ ।

मौसम प्रतिकूलताले गर्दा यहाँका विद्यालय सञ्चालन गर्न सकिँदैन । यहाँका विद्यार्थीले अर्धवार्षिक परीक्षा दिएर जाडो छल्न बेँसी झरेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले बताए ।

यस्तै मनाङमा विकास निर्माणका काम अघि पनि चिसोको कारण अघि बढ्न सकेका छैनन् ।चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् ।

गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङका सडक, पुल, जलविद्युत्लगायतका विकास निर्माणका काम रोकिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताए ।

  • १८ पुष २०७९, सोमबार १५:१७ प्रकाशित