भागबन्डामा सकस भएपछि सत्ता साझेदार दलहरूले भागबन्डा मिलाउन तीनवटा मन्त्रालय फुटाउने तयारी गरेका छन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गरेका सबै दल र स्वतन्त्र सांसदले मन्त्री पदमै दाबी गरेको कारण मन्त्रालय फुटाउने तयारीमा सरकार लागेको हो ।
दलहरुले युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय टुक्य्राउने गरि छलफल तीव्र पारेको जनाइएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
पाँच दल सरकारमा सहभागी हुने निश्चित भइसकेको छ भने अन्य दुई दलले सर्त पूरा भए मन्त्री पठाउने बताइरहेका छन् । तीन स्वतन्त्र सांसदले पनि मन्त्री पद मागिरहेका छन् ।
संसदीय समितिले प्रशासनिक खर्च घटाउन मन्त्रालय १५ वटामा सीमित पार्न सिफारिस गरेको दुई महिनामै मन्त्रालय फुटाएर २५ वटा पुर्याउन लागिएको हो ।
मन्त्रालयको संख्या अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ छ । नयाँ संविधानअनुरूप आमनिर्वाचन भएपछि भने मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा ठूलो बनाउन मिल्दैन ।
सत्ता टिकाउनकै लागि प्रधानमन्त्री दाहालले तीन जनालाई उपप्रधानमन्त्री बनाइसकेका छन् ।













